कुनै समय गाउँ गाउँमा सिंहदरबार पुगेको भनेर आम नागारिकलाई सुसूचित गरिएको थियो। गाउँमा पुगेको सिंहदरबारले भुइँमान्छेको जीवनमा समृद्धि ल्याउने आशा र अपेक्षा आम नागरिकको थियो र छ।
विशेषगरी पिछडिएको वर्ग समुदाय, दलित जनजाति महिलाहरुका सबै अधिकार सुनिश्चित हुन्छन्। समाजमा कुनैपनि किसिमको हिंसा हत्या अपराधहरु हुन पाउँदैन।
हाम्रो समाज धेरै आयामबाट विकसित भएको छ । सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, मनोवैज्ञानिक लगायत सबै क्षेत्रमा व्यापक उथलपुथल र परिवर्तन आएको कुरालाई नकार्न सकिँदैन । कुनै काल खण्डमा पति परलोक हुँदा जिउँदै सती जानु पर्ने कहाली लाग्दा परम्पराहरू समयको गतिसँगै नामेट भएका छन् । छोरीलाई शिक्षामा जोड दिन थालिएको छ। महिलाहरू मुलुकको उच्च पद तथा ओहदामा रही महत्त्वपूर्ण जिम्मेवारी निभाइरहेका छन् ।
तर दु:खका साथ भन्नु पर्छ महिलालाई हेर्ने दृष्टिकोणमा भने अपेक्षित परिवर्तन हुन सकेन । छोरीलाई यो समाजले सधैँ कमजोर देख्यो । अबला देख्यो र परनिर्भर बनाउन खोजिरह्यो । आधा आकाश मात्र होइन सिङ्गो आकाश महिलाको हो भन्दै ठुलो ठुलो स्वरमा भाषण गर्ने तर पखेटा नियन्त्रणमा लिई आकाशमा उड्न स्वतन्त्र छाडेको बहाना गर्न पछि नपर्ने पुरुषवादी साेच र व्यवहारमा भने आज पर्यन्त पनि परिवर्तन आउन सकेको छैन । तितो यथार्थ यही हो ।
राज्यले जति नै समृद्धि र सुशानका नारा फलाके पनि अन्तत आधा आकाश ओगटेका महिलाहरु हिंसामा पिल्सिएर जीवन आहुती दिने अवस्था छँदै छ। प्रहरीको तथ्यांक अनुसार लैंगिक हिंसाका अपराध सम्बन्धी ८५ प्रतिशत घटनामा महिला तथा बालबालिका पीडित भएको देखिन्छ।
हामीले विगतदेखि गरेका सङ्घर्षहरू कुन विषयमा केन्द्रित थिए त ? इतिहासदेखि गरिएका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक क्रान्ति र आन्दोलनले ल्याउन खोजेको कस्तो परिवर्तन हो ? केवल कुर्सी र पदको लागि या अरू पनि केही थियो । के यो समाजमा विभिन्न काल खण्डमा भएका बलिदानी र उथलपुथलहरू समाजको कुसंस्कारहरूलाई पाखा लगाउनको लागि भएका होइनन् र ? अर्थात् कुकर्मलाई निरुत्साहित गर्न र सभ्य समाजको परिकल्पना गर्नको लागि होइन र ?
चार वर्षका बालिकादेखि हजुरआमाको उमेरका महिला बलात्कारमा परेका घटनाहरू दिनहुँ जसो अखबारमा पढ्नुपर्ने हाम्रो नियति नै बनिसकेको छ । केही समय अगाडि चौरानब्बे वर्षको लट्ठीको सहारामा हिँड्नु पर्ने एक वृद्ध पुरुषले चार वर्षको नानीलाई बलात्कार गरेको घटना पढ्दै गर्दा मानव सभ्यता, मानवीय संवेदनशीलता तथा मानवीयता कता तिर जाँदै छ भन्ने एउटा गम्भीर प्रश्न पैदा हुन्छ । यस्ता घटनाहरू पढिरहँदा लाग्छ अहिले मानव सभ्यता कतै उल्टो दिशातर्फ जाँदै त छैन ?प्रहरीको अर्को तथ्यांक अनुसार लकडाउनको समयमा ४३२ वटा घटनामा महिलाहरु घरेलु हिंसाको शिकार भएको पाइन्छ। यसरी विश्लेषण गर्दा महिलाहरु घरेलु हिंसाको शिकार हुने र हिंसा सहन नसकी आफ्ना लालाबालासहित आत्महत्या गर्ने क्रम बढ्दो नै देखिन्छ।
दैलेख जिल्लामा यसको पछिल्लो उदाहरण दैलेखको सुकी घटनालाई लिन सकिन्छ। घरेलु हिंसाकै कारणले आठबीस नगरपालिका-३ निमायलकी सुकी बडुवालले आफ्ना ४ सन्तानसहित कर्णालीमा हेलिएर जीवन समाप्त गरेको घटना कम पीडादायी छैन।
सुकी बडुवालमाथि भएको घरेलु हिंसाको रमिते पितृसत्तात्मक समाज भएको छ। विशेषगरी गाउँघरतिर लोग्ने-स्वास्नीको झगडालाई सामान्य रुपमा लिने गरिन्छ। दिनदिनै झगडा भएको छ भने पनि तिनीहरुकोमा सधैँ त्यस्तै त हो, झगडा गर्छन् मिलिहाल्छन् भन्ने कुरा समाजमा हुने गर्दा अनाहकमा हिंसाले विपत्ति निम्त्याएको समाजले पत्तै पाउँदैन।
आफू हिंसामा परेर आत्महत्या गर्ने धेरै आमाहरुले आफ्ना बच्चाहरुलाई पनि आफूसँगै मृत्युवरण गर्न बाध्य दुखान्त तस्बिरहरु हामीले देखिरहेका छौँ। ती अबोध बालबालिकाहरुको के दोष हुन्छ र उनीहरुको उज्जवल भविश्य नै सदाका लागि वयष्कको हिंसामा समर्पण गर्नुपर्ने।
दिनहुँ जसो जब पत्रपत्रिकामा किशोरी /महिला बलात्कार र यौनजन्य हिंसा सम्बन्धी समाचार पढ्नुपर्दा मानसिक आघात एवं चोट परेको महशुस हुन्छ । त्यस्ता घटनाहरूले मानसपटलको गहिराइसम्म पुर्याउछ र समाजका पुरुष प्रवृत्तिप्रति घृणा जाग्छ । यो सब के का लागि हुन्छ । के बलात्कार कुनै पुरुषको नियन्त्रण गर्न नसक्ने रोग हो । या कुनै कुरा सोच्नै नसक्ने भावशुन्यताका कारण मानिस बलात्कार गर्न पुग्छ ? या अरू केही हो । छोटो पहिरन र नारीको सुन्दरतालाई नै बलात्कारको कारक मानिनु के युक्तिसंगत होला त ? विश्लेषण गरौँ र यदि त्यसो भन्दै गर्दा एउटी हजुरआमाको उमेरकी महिला अनि दुधे वालिका किन बलात्कारमा पर्छे विचारणीय छ ।
जब हिंसाको विष्फोट हुन्छ, ज्यान गइसकेको हुन्छ। अनि मात्र सबैजना हल्ला गर्न तम्सिन्छन्। यसले गर्दा समाजमा हुने गरेका कुनैपनि अपराध र हिंसाप्रति समाजका व्यक्तिहरुनै अग्रसर भएर हिंसा अन्त्यका लागि आ-आफनो भूमिका निभाउन सिकियो भने पक्कै पनि सुकी बडुवालहरुको ज्यान जोगाउन सकिन्छ र महिलाहरुको सवालमा यो राज्य सधै संवेदनशील छ है भन्ने कुराको सन्देश दिन सकिन्छ।
पछिल्लो समयमा देशमा वढिहरेको महिला हिंसा, बलात्कार, जबरजस्ती करणी लगायतका घटनाहरूको रोकथाम गर्न देशको राज्य संयन्त्र, नेपाल प्रहरी तथा अन्य केही सङ्घ संस्थाहरूद्वारा मुलुकका कतिपय ठाउँमा किशोरीहरूलाई आत्मबल बढाई त्यस्ता घटनाहरू न्यूनीकरणको लागि आत्मरक्षा सम्बन्धी तालीम दिन थालिएको छ । यो एउटा विकल्प त होला तर अन्तिम अस्त्र हुन सक्दैन ।
त्यसको लागि राज्यको समग्र संयन्त्र संवेदनशील हुनुपर्छ । छोरीलाई हेर्ने दृष्टिकोणमा पूर्ण परिवर्तन हुन जरुरी छ । महिलालाई वस्तु सरह व्यवहार गर्ने प्रवृत्तिको अन्त्य गर्दै दिगो समानता र समतायुक्त समाजको निर्माणमा जोड दिनुपर्दछ । महिलामाथि हुने हिंसाको प्रतिकार गर्न स्वयं महिलाहरू नै सक्षम र सशक्त हुनु पर्ने मान्यता राख्दै महिलाहरूको निमित्त आत्मरक्षा एवं प्रतिरोध तालिम दिई महिलामाथि हुने गरेका यस्ता अमानवीय क्रियाकलापहरूको प्रतिरोध गर्न महिलाहरूलाई नै सक्षम बनाउनु जरुरी छ ।जब समाज र पुरुष सत्ताले छोरीमा दरिलो भविष्य देख्न सक्छ, भरोसा र विश्वास गर्न सक्छ यस प्रकृतिका हिंसाजन्य घटनाहरूको स्वतः न्यूनीकरण हुँदै जानेछ ।
लेखकको लाइ फेशवुकमा भेटाउन
नामः नारायण रिजाल
यहाँ क्लिक गर्नुहोस
Post a Comment