म भित्रको म

 


म भित्रको ‘म’ हराएर त्यसको खोजी गरि फेला पार्ने मानिसहरु सायदै होलान्। हुन त म जस्तै आफ्नो ‘म’ हराएको महसुस गरेको एवं आफ्नो ‘म’ को पहिचान समेत गर्न नसकेको जमात निकै नै हुनुपर्छ।

खासगरी मैले पनि मेरो ‘म’ हराएको महसुस मात्रै गरेको हुँ तर मलाई हराएको मेरो ‘म’ को आकार, प्रकार, तौल, रङ्ग एवं त्यसको क्षेत्र समेतको ज्ञान छैन्, तथापि म मेरो ‘म’ खोज्ने कार्यमा लागेको छु तर के खोज्दैछु म?

जन्मदाको क्षण त याद छैन। जन्मने बित्तिकै आँखा खोलेर चिहाउँदै, रुँदै, चिच्याउँदै नै जन्म लिएँ होला। कस्तो घरमा?, कस्तो वर्गमा?, के-कस्तो छिमेकमा?, कुन राष्ट्रमा जन्म लिएँ ? यी यावत कुराहरु थाहै नपाइ, हुर्कदै गएँ। हुर्कदै जाँदा परिवारले, समाजले जे जस्तो मूल्य-मान्यता थमाई दिँदै गयो, त्यसैलाई नै आफ्नो मान्दै अगाडि पनि बढें। खाली जन्मिएको थिएँ, तर वरिपरिको वातावरण अनुसार मेरो मानसिकता भरिँदै गयो र विचार पनि बन्दै गयो।

मान्छेहरुमा आजकाल ‘म’ हराउन थालेको छ। म आफै पनि म भित्रको ‘म’ हराएर त्यसको खोजीमा छु। मलाई मेरो ‘म’ हराएको अनुभुति भइसकेको छ त्यसैले मेरो ‘म’ को खोजीमा लाग्दैछु।

प्रत्येक ‘म’ भित्रको ‘म’ त्यो सबै हेरेर बस्दो रहेछ र बेला-बेलामा ती प्रश्नको माध्यमले डस्दो रहेछ। कुनै रोगको माध्यमले एक्लोपन निम्त्याउँदै झक्झकाउँदो रहेछ। रोग लागेर एक्लै पल्टिएको बेला, सबै मुकुण्डो चक्नाचुर पारेर आफ्नो यथार्थ झल्काउँदै, त्यहि प्रश्न तेर्साउँदो रहेछ। त्यो बेलामा पनि ती प्रश्नको उत्तर खोजि नगर्दा र भ्रमको मुकुण्डोलाई नै ‘म’ मानेर त्यहि मुकुण्डोको भरण पोषण गर्दै अघि बढ्दा, पहिलाको रोग भन्दा अझ ठुलो रूपमा एञ्जाइटि(anxiety), अवसाद(depression) र अन्य किसिमका मनोरोगको रुपमा प्रकटित भइदिँदो रहेछ, ‘म’लाई चिन्ने अभिलाषा। यति गर्दा पनि त्यो खोजि आरम्भ नगर्दा यो शरीर, मन, विचारले ‘म’ लाई भेट्ने कोशिस गरेन भनेर त्यो ‘म’ ले शरीर त्याग गर्नलाई आत्मा हत्याको विचार(सुसाइडल टेण्डेन्सी) पनि चलाउँदो रहेछ। बिभिन्न औषधि, नशाले त्यो अवस्थालाई दबाएर राख्ने चलन रहेछ यो दुनियाँ मा। तर ‘म’ लाई चिन्ने, खोज्ने र बुझ्ने यात्रामा अगाडी बढ्ने आँट लाखौँमा एकाधसंग मात्र हुँदो रहेछ।

यहि शिलशिलामा मैले मेरो ‘म’ को पहिचान हुन नसक्नुको कारण मेरो युग एकदमै व्यस्त भएर हुनुपर्छ भन्ने अनुमान पनि गरेको थिएँ। किनकि मलाई आजसम्म आइपुग्दा ऊ भित्रको ‘ऊ’ उनीहरु भित्रको ‘त्यो’ एकअर्कासँग तुलना गर्दागर्दै समय बितिरहेको छ।

मलाई लाग्छ, आम मानिसहरुको हालत पनि यहि नै हुनुपर्छ। किनभने मेरो र आम समुदायको युग त एउटै चलिरहेको छ नि! अनि एकै युगका मान्छेहरु फरक–फरक हुने भन्दापनि एकै किसिमको हुने सम्भावना बढी रहन्छ होला।

‘म’ हराएकाहरुको देशमा ऊ भित्रको ‘ऊ’ लाई फरक–फरक दृष्टिकोणले हेर्ने, उसको सोचाइ, क्रियाकलाप एवम् प्रस्तुतिलाई हेरेर थुप्रै ‘ऊ’ हरुसँग तुलना गर्ने एवम् तिनीहरुको मुल्यांकन गर्दै कुनैकुनै ठाउँमा आफूलाई समेत समाहित गरेर हेरिन्छ भने कुनै ठाउँबाट टाढा भागिन्छ, किनकि याहाँ देखावटी ‘म’ को चरित्रलाई बढी प्रश्रय दिइन्छ।

त्यसैले अरुको अपेक्षा बमोजिमको काम गर्ने शिलशिलामा यहाँ मानिसहरूले आफ्नो ‘म’ लाई पहिचान नै गर्न नपाई गुमाइरहेका हुन्छन्। तर मैले जस्तै ‘म’ हराइरहेको भेउ पाउँदैनन्।

शरीर त्याग्ने पलमा त्यो ‘म’ले मुकुण्डोसँग गुनासो पोख्दो रहेछ। धेरैचोटी त झक्झकाएकै हो, तर सधैं संगै रहँदारहँदै पनि तिमि ‘म’बाट मुकुण्डो बनेर कति टाढा बस्यौ? यो जुनीमा त त्यस्तै भयो, अर्को जुनीमा त पक्कै ‘म’लाई चिन्ने छु भन्ने संकल्पसहित ‘म’ले यो शरीर त्याग्दो रहेछ र फेरि जन्मिदो रहेछ।

‘म’ हराएको बजारमा प्रचारबाजी बढी बिक्री हुने गर्छ। कतिले त न्याय दिलाउने नाममा आफूभित्रको ‘म’ सँगसँगै उनीहरुको ‘म’ समेत उनीहरुबाटै लुटाइन्छ र अन्यायमा पारिरहेको पाइन्छ। अब म जस्तै ‘म’ हराएकाहरुले एकीकृत धारणा निर्माण गरि अन्यायमा नपर्नका लागि दायरा निर्धारण गर्न पहल समेत गर्नुपर्छ जस्तो लाग्छ।

बरु म भित्र को ‘म’ लाई पहिचान गर्न नसक्नु बेग्लै कुरा हो। अब रह्यो ‘म’ लाई पहिचान गर्ने आधार के हो त? वास्तवमा यो अनुत्तरित प्रश्न हो। सामाजिक विज्ञानमा यसमाथि फरकफरक तर्कहरु आउन सक्छन् यसको पहिचानको आधार खोज्ने काम सबैले बराबर बाँडेर लिनुपर्छ।

वास्तवमा म भित्रको ‘म’ को सन्दर्भमा यो सामाजिक विज्ञानमा आधारित रहेर लेखिरहँदा कतैकतै आध्यात्मिकता समेतलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सम्बोधन भएको हुनसक्छ। कसैको दृष्टिकोणसँग, तर्कसँग बाझिएको पनि हुनसक्छ, त्यो फरकै कुरा हो । त्यसैले म भित्र को म लाइ चिनैाँ

सर्वैकत्त्व भवतु:


Post a Comment

Previous Post Next Post