सल्यान : सल्यानमा घाँटी रेटिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । शारदा नगरपालिका १४ माल्नेटा स्थित कालिमा प्राथामिक विद्यालय नजिकै स्थानीय अन्दाजी वर्ष ४७ कि उर्मिला गिरीको शव फेला परेको हो ।
उनी आइतबार बिहान घर नजिकैको बारीमा घाँस काट्न गएको र बिहान १० बजेसम्म घर नफर्केपछि श्रीमान् खडगबहादुर गिरी खोज्दै जाँदा बारीको ढिकमा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले जानकारी दिए ।
घटनालाई हेर्दा महिलाको हत्या गरेको जस्तै देखिए पनि तत्काल केही भन्न नसकिने उनको भनाई छ । उनकाअनुसार अहिले जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी निरीक्षक गोपाल श्रेष्ठको नेतृत्वमा र ढोडचौर चौकीबाट प्रहरी टोली घटनास्थलमा पुगेका छन् । घटनास्थल चारैतिरबाट सुरक्षित गरिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Post a Comment