एमाले कर्णाली प्रदेश अधिवेशन जारी : मतदानमा ढिलाइ

 सुर्खेत : नेकपा एमाले कर्णाली प्रदेश अधिवेशन बुधवार देखि जारी भएको छ । गत बुधवार अध्यक्ष केपी शर्मा ओलीले सुर्खेतको वीरेन्द्रनगरको सिटीहलमा अधिवेशनको उद्घाटन गरेका हुन । तर, पाँचौ दिनसम्म पनि न सर्वसम्मत सहमति हुन सकेको छ न मतदान नै शुरू भएको छ । केबल मतदानको कार्यतालिका फेरबदल गर्ने काम भइरहेको छ ।

निर्वाचन समितिले विभिन्न समस्या देखाउँदै मतदान कार्यतालिका पटकपटक सार्दै आएको छ । शनिवार दिँउसो १२ बजेबाट सुरु हुने भनिएको मतदान शनिवार राति एक सुचना जारी गर्दै आइतवार बिहान ८ बजेलाई स¥यो ।

शनिवार बिहान ८ बजे नै प्रकाशित गरिसक्नुपर्ने उम्मेदवारको अन्तिम नामावली साँझ ५ बजेमात्रै प्रकाशित भएको थियो । दिउँसो १२ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका रहेपनि नामावली प्रकाशनमा ढिलाइ भएपछि मतदानको प्रक्रिया ६ बजेदेखि गर्ने भनिएको थियो । तर, उक्त समयमा पनि निर्वाचन प्रक्रिया अघि बढ्न सकेन् । निर्वाचन समितिले मतपत्र छपाई लगायतका समस्या भएको हुँदा निर्वाचन ढिलाई भएको जनाएको छ ।

अध्यक्ष मण्डलका अध्यक्ष समेत रहेका एमाले प्रदेश इञ्चार्ज लेखराज भट्टले आइतबार बिहान ८ बजेबाट मतदान सुरु हुने भनेका थिए । तर पुनः एक सुचना जारी गर्दै मतदान १० बजे हुने भनिएको छ । अझै मतदान भइहाल्नेमा नेता–कार्यकर्ता ढुक्क भने छैनन् । अध्यक्षका आकांशी पाँचबाट घटेर तीन जनामा झरेका छन् । अध्यक्षमा पाँच आकांक्षीले उम्मेदवारी दर्ता गराएका थिए । त्यसमध्ये अहिले अध्यक्षमा ३ जना मात्रै उम्मेदवार बाँकी छन् ।

कर्णाली प्रदेशसभा पूर्वसभामुख राजबहादुर शाही र कालीकोटका प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिइसकेका छन् । उम्मेदवारी दिएका यी दुइजनाले उम्मेदवारी फिर्ता लिएसँगै अन्तिममा तीनजना उम्मेदवार कायम भएको हो । अध्यक्ष पदमा कालीकोटका प्रकाश रोकाया, सल्यानका गुलाबजङ्ग शाह र कालीकोटका मीनबहादुर शाहीबीच प्रतिस्पर्धा हुने भएको छ ।

सचिवमा दैलेखका रुद्रबहादुर शाही र सुर्खेतका ध्रुवकुमार शाहीबीच प्रतिस्पर्धा हुने भएको छ । यसअघि सचिवमा उम्मेदवारी दिएका सुर्खेतका डण्डीप्रसाद शर्माले सचिवमा रुद्रबहादुर शाहीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए । प्रदेशको नेतृत्व सहमतिमा टुङ्ग्याउने प्रयास गरेको एमालले अन्ततः निर्वाचन प्रक्रियाबाटै नेतृत्वको टुङ्गो लगाउने भएको हो ।

प्रदेश अधिवेशनको उद्घाटन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमतिका आधारमा नेतृत्व छान्न निर्देशन दिएका थिए । तर नेताबीचमा कुरा नमिल्दा निर्वाचनबाटै नेतृत्व चयन गर्नुपरेको हो । एमालेले प्रथम अधिवेशनबाट पाँच पदाधिकारीसहित एक सय ३५ सदस्य चयन गर्नेछ ।

Post a Comment

Previous Post Next Post