सम्वाददाता । बाँके । ०८ भाद्र २०८० ।
रोटराक्ट क्लब अफ नेपालगन्ज मेडिकल कलेजले दिपज्योती सेकेन्डरी स्कुल बैजनाथ १, चिसापानी बाँकेमा प्रोजेक्ट "पवित्र" समपन्न गरेको छ। किशोर किशोरीहरुलाई महिनावारी सम्बन्धि ज्ञान दिने हेतुले क्लबले उक्त कार्यक्रम गरेको क्लबका एक सदस्यले जानकारी दिनुभयो। स्थापना देखिनै स्वास्थ्य शिविर , मानसिक परामर्श, खोप कार्यक्रम आदि आयोजना गर्दै आएको क्लबले यस पटक भने पश्चिम नेपाल र देशभरिनै प्रचलित रहेको महिनावारि सबन्धित कुप्रथाहरुको बारे छलफल गरेरै विद्यार्थीहरुलाई सम्झाउने जमर्को गरेको हो।उक्त कार्यक्रमबाट कक्षा ४ देखि १० सम्म पढ्ने झन्डै १७५ जना विद्यार्थीहरु लाभान्वित भएका छन्। रोटराक्ट क्लब अफ कलंकीका सचिव, रोटराक्ट क्लब अफ नेपालगंज मेडिकल कलेजका सल्लाहकार तथा एसोसियट प्रोफेसर डा. प्रज्ञा गौतम घिमिरेको विशेष आतिथ्यतामा समपन्न भएको कार्यक्रममा बोल्दै सल्लाहकार डा. घिमिरेले पहिलै देखि जरा गाडेर बसेका कुप्रथाहरु हामीले भन्ने बित्तिकै निराकरण नभएपनी आफ्नै घर, समाज र आफैं बाट सुरु गरे केही हद सम्म निर्मुल गर्न सकिने कुरा राख्नु भयो। त्यसै गरि सहभागी विद्यार्थीहरुले देखाएको उत्सुकता र खुलारुपमा महिनावारी र प्रजनन स्वास्थ्यबारे बोलेकोमा मुक्तकन्ठले प्रशंसा समेत गर्नुभयो। चिसापानी हेल्थ पोस्टको सहकार्यमा सोही कार्यक्रममा क्लबले करिब ४५ जना किशोरीहरुलाई सेनेटरी प्याड समेत वितरण गरेको छ। कार्यक्रममा बोल्दै हेल्थ पोस्ट प्रमुख श्री प्रेम साह ज्युले क्लबले एकदमै राम्रो कामको थालनी गरेको र आगामी दिनहरुमा गर्नु पर्ने सम्पुर्ण सहयोग लागि हेल्थ पोस्ट सधैं क्लबको साथमा रहेको बताउनु भयो।
रोटर्याक्टर डा. मोहम्मद साकिब, निरज प्रसाद साह, विशाल कुमार सिंह, मिनु जोशी, समिर यादव,प्रगती यादव, सदिक्षा अधिकारी, साकार शर्मा, मौसम सुनार, बिस्मिता खड्का, आरती पौडेल, एलिजा थकु, बेबिना महर्जन, अन्वेशा सुन्दास, अन्जली खनाल, कृशा ढकाल , दिक्षा रावत र उदय यादवको सकृय सहभागितामा समपन्न भएको कार्यक्रममा सहभागी किशोरीहरुले महिनावारीमा गर्नु पर्ने सरसफाइ, सेनिटरी प्याडको उचित प्रयोग र व्यवस्थापन, प्रजनन स्वास्थय, महिनावारीसंगै आउन सक्ने शारीरिक कमजोरी ,यसको व्यवस्थापनबारे र किशोरहरुले महिनावारीको समयमा दिदि, बहिनी, आमा, संगै पढ्ने साथिहरुलाई समेत कसरी सहयोग गर्न सकिन्छ भनेर सिक्ने मौका पाएका थिए। "अब लुकेर हैन खुलेर बोलौँ" भन्ने नाराका साथ सुरु भएको कार्यक्रम सहभागी किशोरिहरुले आज सम्म आफुले गरेका महिनावारि सम्बन्धि गल्ती सम्झदैँ बेलुन फुलाएर अब बाट नगर्ने र अरुलाई पनि स्वच्छ सफा महिनावारीबारे ज्ञान दिने अठोटका साथ बेलुन फुटाएर अन्त्य गरेका थिए।
साथै विद्यालयले पनि आजसम्म यस्तो कार्यक्रम नभएको र क्लबले आफुहरु कहाँ आएर विद्यार्थीमुखी कार्यक्रम गरेकोमा खुसी व्यक्त गरेको थियो। क्लबले एउटा मात्रै विद्यालयमा नभएर सहकार्य भए सम्म यसै प्रोजेक्ट "पवित्र" लाई अन्य सामुदायिक तथा निजि विद्यालयहरुमा समेत बिस्तार गर्ने बताएको छ।
Post a Comment