सुर्खेत : बझाङको तलकोट केन्द्रबिन्दु बनाएर आएको भूकम्पले गर्दा घर भत्किनुका साथै जयपृथ्वी राजमार्ग उध्रिएर आवागमन अवरुद्ध भएको छ।
मंगलबार दिउँसो दुई पटक आएको भूकम्पले तलकोटर गाउँपालिका र चैनपुर क्षेत्रका स्थानीयका घर भत्किएका छन् भने जयपृथ्वी राजमार्ग उध्रिएर आवागमन अवरुद्ध भएको छ।
स्थानीयका अनुसार यहाँका गाउँ बस्तीमा केही घर भत्किनुका साथै अधिकांश घरहरु चिरा परेका छन् भने जयपृथ्वी राजमार्गको नदी छेउछाउको सडक चिरा पर्नुका साथै पहिरो गएर अवरुद्ध भएको छ।
अहिलेसम्म भूकम्पबाट तलकोट गाउँपालिका, दुर्गाथली गाउँपालिका, जयपृथ्वी नगरपालिका, खप्तडछान्ना गाउँपालिका लगायतका क्षेत्रमा घर तथा विद्यालय भवन भत्किनुका साथै चिरा परेका छन्। बझाङ जोड्ने एक मात्रै सडक जयपृथ्वी राजगमार्गका विभिन्न ठाउँमा पहिरो जानुका साथै चिरा परेर सडक उध्रिएको छ। अहिलेसम्म आंशिक क्षति भए पनि मानवीय क्षतिको विवरण आइनसकेको प्रहरीले बताएको छ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार दिउँसो ३ बजेर ६ मिनेटमा ६ दशमलव २ रेक्टर स्केलको भूकम्प चैनपुर आसपासमा गएको थियो भने त्यसअघि २ बजेर ४० मिनेटमा तलकोट केन्द्रबिन्दु बनाएर ५ दशमलव ३ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको थियो।
Post a Comment