सुर्खेतसहित ७ जिल्लामा पुस ५ गतेदेखि खोप अभियान

सुर्खेत : सरकारले कर्णाली प्रदेशका भूकम्प प्रभावित ७ जिल्लामा खोप अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार एक विज्ञप्ति जारी गर्दै भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिम, सुर्खेत, जुम्ला, कालिकोट, दैलेख र सल्यान जिल्लामा पुस ५ गतेदेखि १४ गतेसम्म खोप अभियान सञ्चालन गर्ने जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार जाजरकोट र रुकुम पश्चिममा ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई दादुरा र रुबेला खोप लगाइने छ भने सुर्खेत, जुम्ला, कालिकोट, दैलेख र सल्यान १६ वर्षदेखि ४५ वर्षसम्मका सबै व्यक्तिलाई टाइफाइडविरुद्धको टि.सि.भीं. खोप लगाइने छ ।

साथै जाजरकोट र रुकुमपश्चिम जिल्लामा नियमित खोप लगाउन छुट भएका ९ महिनादेखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई छुट खोप पनि दिइने मन्त्रालयले जनाएको छ । छुट खोपका लागि नियमित खोप कार्ड लिएर आउन समेत मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।

खोप अभियान सञ्चालन हुने स्थान र मितिबारे थप जानकारीका लागि नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गर्न मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

Post a Comment

Previous Post Next Post