सुर्खेत : साविक विजेता नेपाल एपिएफ क्लबको अपराजित यात्रामा पूर्णविराम लगाउँदै नेपाल पुलिस क्लब ३४औं राष्ट्रिय भलिबल प्रतियोगिताको विजयी बनेको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित खुलामञ्चमा भएको फाइनल खेलमा साविक विजेता विभागीय टिम सशस्त्र प्रहरी बल एपीएफलाई ३-१ को सेटमा पराजित गर्दै पुलिस क्लबले उपाधि जितेको हो । पुलिस पहिलो सेटमा एपीएफसँग २५-२२ ले पछि पराजित भयो ।
दोस्रो सेटमा पुलिसले एपीएफलाई २५-१९ र तेस्रो सेटमा २५-१८ ले पराजित गरेको थियो । अन्तिम तथा निर्णायक सेटमा एपीएफलाई २५-२३ ले पराजित गर्दै पुलिसले उपाधि जितेको हो । योसँगै पुलिसले समूह चरणमा एपीएफसँग ब्यहोरेको हारको बदला पनि लिएको छ ।
यसअघि बिहीबार बिहान भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै गण्डकी प्रदेशले तेस्रो स्थान हासिल गरेको थियो । गण्डकीले आर्मीलाई ३-१ को सेटमा पराजित गरेको थियो ।
गण्डकीले आर्मीलाई पहिलो सेटमा २५-२२ ले हराएको थियो । दोस्रो सेटमा भने गण्डकी २६–२४ ले पराजित भयो । त्यसपछिका सेटमा भने गण्डकी लगातार जित निकाल्न सफल भयो । तेस्रो सेटमा आर्मीलाई २६-२४ ले र चौथो तथा अन्तिम सेटमा २५-२२ ले हराउँदै गण्डकी तेस्रो भएको हो ।
२० पुसबाट सुरु भएको प्रतियोगितामा तीन विभागसँगै सात प्रदेश गरी १० टोलीको सहभागिता रहेको थियो। समूह ‘ए’ मा पुलिस, एपीएफ, लुम्बिनी, बागमती र कोशी थिए । समूह ‘बी’ मा आर्मी, गण्डकी, कर्णाली, सुदूरपश्चिम र मधेश रहेका थिए।
Post a Comment