सुर्खेत : नेपाल पुलिस क्लब स्पाइकर रविन चन्द सर्वोत्कृष्ट र पहल गहतराज उदीयमान खेलाडी घोषित भएका छन् । बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा सकिएको ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा पुलिसका चन्द सर्वोत्कृष्टर स्पाइकर गहतराज उदीयमान खेलाडी घोषित भएका हुन् ।
रविन बैतडीका हुन् भने पहल कर्णाली रुकुम पश्चिमका हुन् ।
२०-२६ पुससम्म भएको प्रतियोगिताको फाइनलमा रविन र पहलको सानदार प्रदर्शनमा विभागीय टिम नेपाल एपीएफ क्लबलाई ३-१ को सेटमा हराएर पुलिसले उपाधि हात पारेको थियो ।
सर्वोत्कृष्ट खेलाडी बनेका रविनले ट्रफीसँगै १० हजार रुपैयाँ प्राप्त गर्दा उदीयमान खेलाडी पहलले नगद ५ हजार हात पारेका छन । यस्तै, उत्कृष्ट प्रशिक्षकमा पुलिसकै चन्द्र कुँवर, सेटरमा कप्तान इम राना, ब्लकरमा रविन नगरकोटी र लिबेरोमा भीम गाहा चुनिएका छन् ।
यस्तै, स्पाइकरमा एपीएफका हेमन्त मल्ल र उत्कृष्ट सर्भरमा गण्डकी प्रदेशका जीवन सुनार घोषित भएका छन। उनीहरूलाई ५-५ हजार नगद र ट्रफीले सम्मान गरिएको छ । उपाधिसँगै पुलिसले १ लाख रुपैयाँसँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन।
यस्तै, विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा पराजित गर्दै गण्डकी प्रदेशले तेस्रो स्थान हासिल गरेको थियो ।
Post a Comment