कृषि विकास बैंकको कर्जा भन्दा लगानी बढी

सुर्खेत : कर्णाली प्रदेशमा कृषि विकास बैंकले निक्षेप भन्दा कर्जा लगानी बढी गरेको पाइएको छ । बैंकले कर्णाली मा कृषि लगायत अन्य कामका लागि झण्डै पाँच अर्व लगानी गरेको छ । तर निक्षेप संकलन भने करिव दुई अर्व जति हुने गरेको छ । कृषि विकास बैंकको ५७ औं बैंक दिवसको अवसरमा बैंकको कर्णाली प्रदेशले कर्णालीमा निक्षेप संकलन भन्दा कर्जा लगानी बढि गरेको जनाएको छ । बैंकका निर्देशक डा।सुरोज टण्डनले बैंकले कर्णालीमा निक्षेपभन्दा कर्जा लगानीलाई प्राथमिकता दिएको बताएका छन । उनका अनुसार लगानीमा पनि करिव ७० प्रतिशत जति कृषिमै रहेको छ । कर्णाली प्रदेश कृषि क्षेत्रमा लगानीको माग बढी आउने गरेको हुँदा बैंकले विभिन्न मापदण्डका आधारमा कर्जा लगानी गर्ने गरेको उनको भनाइ छ । 

बैंकले गरिवी न्यूनीकरण गर्न, रोजगारी बढाउन, आत्मनिर्भर गराउन, आर्थिक सशक्तिकरण गर्न लगानी गर्ने गरेको बताउँदै उनले कुलोदेखि चुलोसम्म, नुनदेखि सुनसम्म लगानी गरेको उल्लेख गरेका छन । यसका साथै कर्णालीको रैथानी बाली संरक्षण गर्नेलगायतका कृषिमा आधारित क्षेत्रमा पनि लगानी गरेको निर्देशक डा। टण्डनको भनाइ छ । उनले शहरी क्षेत्रमा संकलन गरेको रकम पनि ग्रामीण क्षेत्रमा लगाइरहेको जनाउँदै बैंकले लगानीमात्र नभइ वित्तीय साक्षरता पनि प्रदान गर्ने गरेको बताए । 

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले कर्णालीको गरिवी न्यूनीकरण का लागि कृषि क्षेत्रमा लगानी बढाउन आव्हान गरेका छन। उनले बैंकले पाँच करोडसम्मको लगानीमा नौ प्रतिशत व्याज अनुदान र १० करोडसम्मको लगानीमा सात प्रतिशत व्याज अनुदान कर्णाली प्रदेश सरकारले व्यहोर्ने गरी प्रस्ताव गरेको जानकारी दिए । बैंकहरुले अन्यभन्दा पनि कृषि क्षेत्रमा कम्तीमा १० करोडसम्म लगानी गर्न आव्हान गर्दै मन्त्री सिंहले उद्योग धन्दाहरुमा पनि यस्तै सहुलियत दिनुपर्ने उल्लेख गरेका छन। कर्णालीमा मनोमानी अनुदान दिने प्रवृत्तिलाई नियन्त्रण गरिएको दावी गर्दै अव ऐन बनाएर मात्र दिने तयारी भइरहेको मन्त्री सिंहले बताए । विगतमा दिइएका अनुदानले कुनै उपलव्धी नआएको हुँदा अव ऐन अनुसार मात्र अनुदान दिइने उनको भनाइ छ । 

नेपाल राष्ट्र बैंक सुर्खेत कार्यालयका रमेश पंगेनीले बैंकलाई कम जोखिममा गुणस्तरीय कर्जा लगानी गर्न सुझाव दिए । नेपालका कृषकहरुमाथि लगानी गर्ने बैंक नै कृषि विकास बैंक भएकोले आगामी दिनमा पनि त्यो विश्वास कायमै राख्न आग्रह गरेका छन । साथै कृषि क्षेत्रको अगुवा बैंक रहिरहन पनि उनले जोड दिए । कृषि क्षेत्र विकास कार्यक्रम सुर्खेतका संयोजक तर्कराज जोशीले कृषि विकास बैंकका माध्यमबाट कर्णालीमा १२ करोडको लगानी कृषकहरुलाई गरिएको जानकारी दिए । बैंक दिवसको अवसरमा राष्टिूय बाणिज्य बैंक कर्णाली प्रदेश प्रवन्धक शिवप्रसाद चालिसे, सुर्खेत उद्योग बाणिज्य संघका महासचिव भद्र भण्डारीलगायतले कृषि विकास बैंकको साख बचाइराख्न सुझाव दिएका थिए । सो अवसरमा कृषि विकास बैंक छिन्चु शाखाका कार्यालय सहयोगी शेरबहादुर घर्ती क्षेत्रीलाई सेवाको २५ वर्ष पुगेको अवसरमा कदरपत्रले सम्मान गरिएको थियो ।

Post a Comment

Previous Post Next Post