राष्ट्रिय क्रिकेट प्रतियोगिता : प्रधानमन्त्री कपमा कर्णालीको तेस्रो जित

सुर्खेत : प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले लगातार सातौं हार ब्यहोरेको छ। कोशी मुलपानी क्रिकेट मैदानमा मंगलबार कर्णाली प्रदेशसँग ६ विकेटले पराजित भएको हो।

तेस्रो जितसँगै कर्णालीले ६ खेलमा ६ अंक जोडेको छ। सातै खेलमा पराजित कोशी अंकविहन छ।

कोशीले प्रस्तुत गरेको १ सय ५२ रनको लक्ष्य कर्णालीले २८.३ ओभरमा चार विकेट गुमाउँदै भेट्टायो। कर्णालीका लागि अर्जुन घर्तीले ४८ बलमा ६ चौका र दुई छक्काको मद्दतले अविजित ५० रनको योगदान गरे। यसैगरी विपिन शाहीले २८, हिमान्शु शाहीले अविजित २४, निश्चल रावलले २१ र कप्तान रविन्द्र शाहीले १२ रन बनाए।

दोस्रो विकेटका लागि अर्जुन र निश्चलले ४८ रनको साझेदारी गरे। कोशीका लागि हेमन्त राईले तीन र कमल खत्रीले एक विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कोशीले ३४।३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५१ रनको योगफल तयार पारेको थियो।

कोशीका लागि सुजन थपलियाले ७३ बलमा आठ चौका र चार छक्काको मद्दतले सर्वाधिक ७३ रनको योगदान गरे। यसैगरी सौजन घिमिरेले १२ र आइश भट्टराईले ११ रन बनाए। कर्णालीका लागि दिनेश अधिकारीले आठ ओभरमा एक मेडनसहित १८ रन खर्चिएर चार विकेट लिए। यसैगरी प्रकाश जैसीले तीन र युनिश सिंहले दुई विकेट लिए।

Post a Comment

Previous Post Next Post