कर्णाली भूकम्पको उच्च जोखिममा

सुर्खेत : कर्णाली प्रदेश भूकम्पको उच्च जोखिममा रहेकोले यसबाट हुनसक्ने क्षति न्यूनीकरण गर्न व्यापक सचेतना जगाउन र संरचनाहरु प्रतिरोधमैत्री बनाउन सुझाव दिइएको छ । २६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा मंगलवार सुर्खेतमा आयोजित कार्यक्रममा कर्णाली प्रदेशको क्षेत्रमा सानामात्र भूकम्प गएको र ठूलो महाभूकम्प नगएकोले यो प्रदेश उच्च जोखिममा रहेको हुँदा सचेतना अति जरुरी रहेको सुझाव दिइएको हो । 

वीरेन्द्रनगरपालिका प्रमुख मोहनमाया ढकालले स्थानीय तह जनतको नजिकको अधिकार सम्पन्न सरकार भए पनि ऐन कानुनको नहुनु र सीमित स्रोत साधनका अभावले प्रभावकारी रुपमा कार्य सम्पादन गर्न चुनौति भएको बताइन। उनले स्थानीय तहमा दक्ष जनशक्ति अभाव हुँदा विभिन्न विपद् न्यूनीकरणका कार्य गर्न अप्ठ्यारो भएको गुनासो गरेकी छिन ।

यस्तै मुख्यमन्त्री राजकुमार शर्माले विगतका भूकम्पबाट अझैपनि पाठ लिन नसकिएको बताउँदै अव पनि शिक्षा नलिने होभने ठूलो क्षति भोग्नुपर्ने बताएका छन । उाले जाजरकोट भूकम्पले खोज, उद्धार, राहतलगायत विविध पक्षमा धेरै शिक्षा दिएको हुँदा आगामी दिनमा हुनसक्ने क्षति न्यूनीकरणका लागि प्रदेशका साथै संघीय र स्थानीय सरकार सवैले संयुक्तरुपमा कार्यक्रम गर्न आवश्यक रहेको बताए । 

सो अवसरमा भूकम्प मापन केन्द्रका प्रमुख बलबहादुर तामाङले करिव पाँच सय वर्षदेखि पश्चिम क्षेत्रमा भूकम्प नगएको हुँदा आगामी दिनमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश उच्च जोखिममा रहेको देखिएको बताएका छन । उनले अध्ययन अनुसार पश्चिम क्षेत्रमा ८.६ रेक्टर स्केलसम्मको भूकम्प आउन सक्ने जोखिम रहेको हँुँदा त्यो महाभूकम्प नै हुने उल्लेख गरे । उनले कर्णालीमा यदि ८.६ रेक्टर स्केलको भूकम्प जाँदा र सावधानी अपनाउन नसके व्यापक जनधनको क्षति हुनसक्ने औंल्याएका छन। 

यदि कर्णालीमा ८.६ रेक्टर स्केलको भूकम्प गएमा हुनसक्ने मानवीय क्षेतिको पनि आंकलन गरिएको छ । जस अनुसार रातीको समयमा भूकम्प गएमा ११ हजार ५३० जना, बिदाको दिनमा गएमा सात हजार ९० जना, कार्यालय समयमा गएमा चार हजार ८९४ जना मानिसको मृत्यु हुन सक्ने देखिएको तामाङले बताए । 

यसैगरी संघीय आयोजना कार्यान्वयन इकाई सुर्खेतका निमित्त कार्यालय प्रमुख इन्जिनियर रामकृष्ण आचार्यले कर्णालीमा जतिबेला पनि ठूलो भूकम्प आउन सक्ने भएकोले भौतिक संरचनाहरु प्रतिरोधी वा क्षति थेग्न सक्ने खालका बनाउन र सर्वसाधारणमा व्यापक सचेतना जगाउन आवश्यक रहेको बताएका छन । भूकम्पबाट बच्ने तथा भौतिक संरचनाहरुको क्षति कम गराउनका लागि विद्यालयलगायत गाउँ समाजमा व्यापक जनचेतना दिनुपर्ने सुझाव दिएका छन । 

Post a Comment

Previous Post Next Post