सुर्खेत : कर्णालीमा बालबालिकाको प्रजनन स्वास्थ्य अवस्था भयावह छ । कर्णालीका धेरै किशोरीहरुले सानै उमेरमा विवाह गर्ने भएकाले प्रजनन स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ । कर्णालीमा गरिबी, शिक्षा, स्वास्थ्य, बालविवाह र भेदभावका कारण १५ वर्षदेखि १९ वर्ष उमेर समुहका किशोरीहरु २४ प्रतिशत मातृ मृत्यु हुने गरेको छ । यसैगरि २० वर्षदेखि २४ वर्ष उमेर शमुहका ३५ र २५ वर्षदेखि २९ वर्षका उमेर समुहमा २२ प्रतिशत मातृ मृत्य हुने गरेको छ ।
किशोर–किशोरी यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि अझै पनि नागरिकस्तरसम्म सचेतना हुन नसक्दा किशोरकिशोरीहरुमा प्रजनन स्वास्थ्य सम्वन्धि समस्या देखिएको छ । नेपालमा १० वर्षदेखि १९ वर्षसम्मको उमेर समुहलाई किशोरावस्था भनिन्छ । यो उमेर समुहका केटाकेटीहरुलाई किशोर–किशोरी भनिन्छ । किशोरावस्था शारीरिक, मानसिक, भावनात्मक सामाजिकतथा यौनिक परिवर्तन तथाविकास हुन्छ । यस्तो उमेरमा मन चञ्चल हुन्छ, छिनमा हास्न मन लाग्ने, छिनमा रुन मन लाग्ने, छिनमा रिस उठ्ने हुन्छ । कुनैपनि कुराको तुरुन्तै निर्णय गर्ने बानी हुन्छ । यस अवस्थाका किशोर–किशोरीहरूले लिने निर्णय एवं व्यवहारहरूले उनीहरूको भविष्यमागहन असर पार्ने जोखिम धेरै हुन्छ । किशोर–किशोरीहरुले दैनिक जीवनमा सामना गर्नुपर्ने चुनौतीहरू धेरै हुन्छन् । उनीहरुका आवश्यकतालाई प्रभावकारी र सकारात्मक रूपमा समाधान गर्न सक्ने सीप र व्यवहारबारे जानकारी दिने उद्देश्यले किशोर–किशोरीहरुले सेवालिने स्वास्थ्य संस्था र अध्ययनगर्ने विद्यालयका स्टाफ नर्सहरुलाई जानकारीमुल सन्देश प्रभाहगरिरहेकोे कर्णाली प्रदेशका वरिष्ठ नर्सिङ अधिकृत दिपा भट्टराईले जानकारी दिइन । उनका अनुसार कर्णालीका माध्यामिकतहका विद्यार्थीसँग यौन शिक्षा सम्बन्धि कक्षाहरु सञ्चालन गर्दै आएको जानकारी दिइन । किशोरकिशोरीलाई यौन प्रजनन्को अवस्थाको बारेमा जनचेतनामुलक कार्यक्रमहरु गर्न आवश्यक रहेको उनले जानकारी दिइन । कर्णालीका धेरै विद्यालयमा अझै पनि विद्यालय नर्सको व्यवस्था हुन नसकेको उनले बताइन् ।
उनले भनिन् विद्यालयका नर्स, स्वास्थ्यचौकी नर्स र किशोर किशोरीलाई यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि सचेत गराउन आवश्यक रहेको उनले जानकारी दिइन ।
कर्णालीमा शिक्षितभन्दा अशिक्षितमा मातृ मृत्यु दर बढी
कर्णाली प्रदेशमा पढेकाभन्दा नपढेका महिलामा मातृ मृत्युदर बढी हुने गरेको पाइएको छ । राष्ट्रिय जनसंख्या र आवास जनगणना, २०२१ का अनुसार कर्णाली प्रदेशमा मातृ तथा प्रसवकालीन मृत्युदरमा प्रति एक लाख जनसंख्यामा १७२ जना मृत्यु हुने गरेको छ ।
नेपालमा प्रति एक लाख जनसंख्यामा १५१ जनाको मृत्यु हुने गरेकोमा कर्णालीमा त्यो जनसंख्या अनुपातमा १७२ जना मृत्यु हुने गरेको कर्णालीमा किशोर–किशोरी यौन तथा प्रजनन् स्वास्थ्य विषयमा जानकारी आवश्यक रहेको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका वरिष्ठ नर्सिङ अधिकृत भट्टराईले बताइन् । ‘नेपालमा सबैभन्दा बढी मातृ मृत्युदर लुम्बिनी रहेको छ । जहाँ एक लाखमा २०७ जनाको मृत्यु हुने गरेको छ,’ उनले भनिन्, ‘त्यसभन्दा पछि कर्णालीमा हुने गरेको छ ।’
जनगणनाअनुसार कर्णालीमा हरेक वर्ष जीवित जन्म ३१ हजार ३२३ हुने गरेको भएपनि प्रजनन उमेर समूहका ६५७ जना महिलाको मृत्यु हुने गरेको मातृ मृत्यु अनुपात १७२ जना रहेका छन् । जिल्लागत तथ्यांकअनुसार कर्णाली प्रदेशका १० जिल्लामध्ये मातृ मृत्यु दर अनुपातमा सबैभन्दा बढी सुर्खेतमा १० जना हुने गरेको छ । सबैभन्दा कम जुम्ला जिल्लामा हुने गरेको त्यहाँ १ जनाको मृत्यु हुने गरेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । त्यस्तै, डोल्पामा तीन जना, मुगुमा दुई जना, हुम्लामा चार जना, कालीकोटमा छ जना, दैलेखमा छ जना, जाजरकोटमा आठ जना, रुकुमपश्चिममा छ जना र सल्यानमा आठ जनाको मृत्यु हुने गरेको छ ।
२० वर्षदेखि २४ वर्षका बढी मृत्यु कर्णालीमा हुने मातृ मृत्युमा उमेर समूहअनुसार २० वर्षदेखि २४ वर्ष उमेरका बढी मृत्यु हुने गरेको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका वरिष्ठ नर्सिङ अधिकृत भट्टराईले बताइन् । ‘मातृ मृत्युअनुसार कर्णालीमा २० वर्षदेखि २४ वर्ष उमेर समूहका ३५ प्रतिशत मातृ मृत्यु दर रहेको छ,’ उनले भनिन्, ‘यो उमेर समूहको मातृ मृत्यु दर निकै डरलाग्दो अवस्था रहेको छ ।’
त्यस्तै, १५ वर्षदेखि १९ वर्ष उमेर समूहका मातृ मृत्युदर २४ प्रतिशत, २५ वर्षदेखि २९ वर्ष उमेर समूहको मातृ मृत्युदर २२ प्रतिशत, ३० वर्षदेखि ३४ वर्ष उमेर समूहको मातृ मृत्युदर १३ प्रतिशत र ३५ वर्षदेखि ३९ वर्ष उमेर समूहको मातृ मृत्युदर ६ प्रतिशत रहेको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका वरिष्ठ नर्सिङ अधिकृत भट्टराईले जानकारी दिइन् ।
शिक्षितभन्दा अशिक्षितमा बढी मातृ मृत्युदर कर्णाली प्रदेशमा शिक्षितभन्दा कम शिक्षितमा बढी मातृ मृत्यु दर रहेको छ । कर्णाली प्रदेशमा कहिल्यै विद्यालय नगएको वा थाहा नभएकोहरुमा २८ प्रतिशत मातृ मृत्युदर रहेको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका वरिष्ठ नर्सिङ अधिकृत भट्टराईले बताइन् । ‘१ कक्षादेखि ८ कक्षासम्म पढेका २२ प्रतिशतमा मातृ मृत्युदर रहेको छ,’ उनले भनिन्, ‘कक्षा ९ देखि १२ कक्षासम्म पढेका ५० प्रतिशत मातृ मृत्यु दर रहेको छ ।’
स्नातक वा त्योभन्दा माथि पढेका महिलामा मातृ मृत्युदर शुन्य रहेको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका वरिष्ठ नर्सिङ अधिकृत भट्टराईले बताइन् ।
कर्णालीमा २० वर्षदेखि २४ वर्षका उमेरमा विवाह गर्ने ३० प्रतिशत, १८ वर्षको उमेरमा विवाह गर्ने २७ प्रतिशत र १५ वर्षको उमेरमा विवाह ६ प्रतिशत महिलाले गर्ने गरेका छन् । मातृ मृत्यु दर घटाउन के गर्दैछ प्रदेश सरकार किशोर–किशोरी यौन तथा प्रजजन स्वास्थ्यका कर्णाली प्रदेश सरकारले विभिन्न नीति तथा रणनीति तयार पारेको छ ।
कर्णाली प्रदेश स्वास्थ्य सेवा ऐन, २०७८ को परिच्छेद ६ मा स्वस्थ्य सेवाको पहुँच विषयमा बुदाँ नं. २७ मा महिलाको सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्य अधिकारको सुनिश्चितत्ता गर्ने उल्लेख गरेको छ । त्यस्तै, प्रदेशमा बसोवास गर्ने महिलाहरुलाई प्रचलित कानुन बमोजिम प्राप्त सुरक्षित मातृत्व र प्रजनन, स्वास्थ्यको अधिकारको सुनिश्चितत्ता गरिनेछ भनेर उल्लेख गरेको छ । त्यसैको २. उपदफा १ बमोजिमको अधिकार कार्यान्वयनको लागि मन्त्रालयले नेपाल सरकार र स्थानीय तहसँग आवश्यक समन्वय गर्ने भनिएको छ । कर्णाली प्रदेश स्वास्थ्य नीति, २०७६ मा पनि बुदाँ नं. ६ नीति तथा कार्य रणनीतिहरुमा नीति ७.१२ सुरक्षित मातृत्व, बाल स्वास्थ्य, किशोरावस्थाको स्वास्थ्य, परिवार नियोजन तथा प्रजनन सेवामा विकास र विस्तार गरी पहुँचमा सहजता ल्याइनेछ भनेको छ ।
त्यसको ७.१२.७ प्रदेशका आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थालाई स्थानीय तहसँगको सहकार्यमा किशोर–किशोरी मैत्री सेवा प्रदान गर्न सक्षम बनाइनेछ भन्ने उल्लेख गरिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख वृषबहादुर शाहीले बताए । ‘त्यसैको ७.१२.१२ सरोकारवालासँगको सहकार्यमा एक विद्यालय एक नर्सको अवधारणा, स्वस्थ विद्यालय वातावरण, स्क्रिनिङ्ग तथा स्वास्थ्य परीक्षण, किशोरावस्था स्वास्थ्य सेवा जस्ता विद्यालय स्वास्थ्य कार्यक्रमलाई प्रवद्धन गरिनेछ भनिएको छ,’ उनले भने, ‘स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका नागरिकलाई समेटने रणनीति २०७७, उद्देश्य १ भौगोलिक विकटका कारण पहुँच बाहिर रहेका समुदायमा स्वास्थ्य सेवाको पहुँच र उपभोग वृद्धि गर्ने रणनिति नं. ४ पहुँच नपुगेको समुदाय र वस्तीलाई प्राथमिकता दिई विद्यालय नर्स कार्यक्रममार्फत स्वास्थ्य सेवाको विस्तार गर्ने व्यवस्था गरिएको छ ।’
उमेर हदले पनि बालविबाहमा कमी आउन सकेन्
कशोरकिशोरी र प्रजनन स्वास्थ्यमा विवाहको हद लगाउँदा पनि कर्णालीमा बालविवाह भने कम हुन सकेको छैन । जसका कारण उनीहरुमा स्वास्थ्यको समस्याहरु पनि बढ्दै गएको छ । एकातिर त्यहाँका विकास कार्यकर्ताहरू ‘विवाहको उमेर बढाउनुपर्छ’, ‘छिटै विवाहगर्दा सानैमा यौनसम्पर्क भएर शारीरिक समस्या आउँछ’ भन्छन्, अर्कातिर स्वास्थ्यकर्मीहरू ‘किशोरीहरू सानै उमेरमा गर्भपतनका लागि आएको’ बताउँछन ।
यस्तै स्वास्थ्यकर्मीका अनुसार १५ वर्षदेखि १९ वर्षभन्दा कमका किशोरीहरु यौन सम्पर्कका कारण बच्चा पेटमा हुँदासम्म थाहा नभएर जब बच्चा ठुलो हुन्छ तब गर्भपतनका लागि अस्पताल आउने र गर्भपतन नगराए आत्महत्याको प्रयास गरेको पनि उनीहरुले बताएका छन ।
हाल कर्णाली प्रदेशमा कुल जनसंख्याको २४ प्रतिशत किशोरीमा रहेका छन ।
९ कक्षामा पढ्ने किशोरीहरूले भन्छिन्, ‘१७–१८ वर्ष भइसकेपछि गाउँलेहरूले तरुनी भई भनेर कुरा काट्न थाल्छ । आमाबाबुले यस्ता कुरा सुन्नु पर्दैन भनेर छिट्टै विवाह गरि हालिन्छ । सरकारले सानै उमेरमा विवाह नगर भनेर के गर्नु ? किशोरहरू विपरीत लिंगीप्रति आकर्षित हुनु, मन परेको जस्तो लाग्नु वा कुरा गर्न मन लाग्नु स्वाभाविक हुन । त्यसैलाई ‘प्रेम’ ठानेर ‘एकैछिनमा’ सँगै मर्ने–बाँच्ने कसम खाने र शारीरिक सम्पर्क गरिहाल्ने प्रवृत्ति बढ्दो छ ।
वीरेन्द्रनगर–१ कि १५ वर्षीया किशोरीको एक किशोरसँग सम्बन्ध भएपछि महिनावारी रोकियो । उनले ७ हप्तामै गर्भपतनको औषधि खाइछन । त्यसको एक हप्तापछि पेट एकदमै दुखेर बेहोस भइछन । अस्पताल लगेपछि गर्भनलीमा गर्भ बसेको थाहा भएछ । त्यो फुटेर आन्तरिक रक्तश्रावका कारण उनको ज्यानै खतरामा परेको रहेछ । शल्यक्रिया गरेपछि ज्यान त बच्यो तर जोसँग उनको सम्बन्ध भएको थियो, उनले नचिने झैं गर्छन् रे ! उनका परिवार अपमानित हुने डरका कारण प्रहरी कहाँ जान मानेन छन । ती किशोर अहिले उच्चशिक्षाका लागिका लागि जिल्ला बाहिर गएका छन । किशोरी मानसिक रोगको औषधि खाएर बसेकी छन । पढाइ त छुट्यो नै, उनलाई आफूमाथि दुःखको ठूलो पहाड खसेजस्तै भएको छ । त्यहाँका एक शिक्षक भन्छन्, ‘किशोरकिशोरीलाई गर्भपतन अधिकारबारे भन्यौं तर उनीहरूलाई आफ्नो शरीरप्रतिको जिम्मेवारी चाहिँ सिकाउन सकेनौं । यसले किशोरीहरूको जीवनमा धेरै नराम्रो असर परेको छ ।’ सहरी परिवेशमा त आमाबुबाले छोराछोरीसँग यौनसम्बन्ध र त्यसले जीवनमा पर्ने सकारात्मक वा नकारात्मक प्रभावबारे कुराकानी गर्दैनन् भने कर्णालीका दुर्गम जिल्ला यस्तो खालको शिक्षाको आशा कसरी गर्नु ? कर्णालीको १० जिल्लामा गरिएको सर्वेक्षणले अब प्रजनन स्वास्थ्य शिक्षा भनेर प्रजनन अंग र शारीरिक परिवर्तनबारे मात्र होइन, मानवीय सम्बन्ध, प्रेम, यौन र यौनिकताका सवालहरू पनि किशोरकिशोरीलाई बुझाउनु जरुरी छ भन्ने देखाउँछ । छोराछोरीलाई ‘लागूपदार्थको कुलतमा नलाग’भन्ने आमाबुबाले ‘यौनसम्बन्धपनि चाँडै नराख’भन्न सक्नुपर्छ ।
साथै शारीरिक सम्बन्धका कुरा मात्र यौनिकता होइन भन्ने पनि बुझाउनु पर्छ । नयाँ पुस्तामा सानै उमेरमा यौनसम्बन्ध राखेर, गर्भपतन गराएर वाबच्चा जन्माएर सडक छेउ छोड्ने प्रवृत्ति बढ्न थाल्यो भने देशले जति नै आर्थिक उन्नति गरे पनि मानवीय प्रगतिमा पछि नै परिन्छ ।
जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले स्वास्थ्य सेवा प्रवर्धनका लागि स्वास्थ्य चौकीको अनुगमन गर्दा किशोरकिशारीहरु अझै पनि आफ्नो समस्या भन्न नसक्दा सहि तथ्याकं आउन नसकेको स्वास्थ्यकर्मीले जनाएका छन । किशोरी अवस्थामा विवाह गर्दा प्रजनन् स्वास्थ्यमा नकरात्मक असर गरेको कल्याण स्वास्थ्य चौकीकी हे.अ भगवती श्रेष्ठले जानकारी दिइन । उनले भनिन् बालविवाह गर्दा किशोरकिशोरीमा अहिले मानसिक रोगका बिरामीहरु बढ्दै गएका छन । अहिले दैनिक ३०÷४० को हाराहारीमा यस्ता बिरामीहरु आउनेको उनले जानकारी दिइन ।
कर्णालीको कुल जनसंख्या अनुसार १५ लाख ७० हजार ४१८ मध्ये किशोरकिशोरी कुल जनसंख्या १९६७४४ रहेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेत जनाएको छ । जनस्वाथ्यसेवा निर्देशनालयकाले गरेको अनुगमन अनुसार कर्णाली कुल जनसंख्या अनुसार १ लाख ९६ हजार ७४४ रहेको छ,सो अनुसार कर्णालीमा किशोर ९५,५५२ रहेको छ भने किशारी १,०११,७४४ रहेको छ ।
Post a Comment