ओ कमरेड, सम्झन्छौ?
हिजो तिमी जुलुसको अगुवाइ गर्दै थियौ,
हामी तिम्रो पछिपछि थियौं,
नारा घन्काउँदै, सपनाका बीउ रोप्दै।
तिमी भन्थ्यौ—
"यो शासन ढल्नैपर्छ!"
हामी गर्जियौं—
"हो, ढल्नैपर्छ!"
र हामीले ढाल्यौं।
रगतको खोलो बगायौं,
भोकले रातहरू काट्यौं,
तर पनी तिमीलाई सत्तासँग साट्यौं।
आज तिमी शासन सिंहासनमा छौ,
हिजो लड्ने ती हातहरू
आज तिम्रै विरुद्ध उठिरहेका छन्।
तिमी हिजो विद्रोही थियौ,
आज तिम्रै विरुद्ध विद्रोहको आगो सल्केको छ।
के परिवर्तन यति सस्तो थियो, कमरेड?
के रक्तले लेखिएको इतिहास
सत्ताको दरबारमा पस्ने बित्तिकै मेटिन्छ?
के क्रान्तिको गीत केवल नारामै सीमित थियो?
हिजो तिमीले हामीलाई सिकायौ—
"शासन अन्याय गर्छ भने विद्रोह गर!"
हामीले सिक्यौं, कमरेड,
र आज तिम्रै विरुद्ध उठ्न लागेका छौं।
तिमीले हाम्रो विश्वास बेच्यौ,
हाम्रो सपना लिलाम गर्यौ,
हामीले तिम्रो विजयलाई हाम्रो जित ठानेका थियौं,
तर तिमी पनि उस्तै भयौ—
हिजो जसरी अरू शासक थिए!
हिजो तिमी क्रान्तिको गीत गाउँथ्यौ,
आज हामी गाउँछौं।
हिजो तिमीले उठाएको मुट्ठी
आज हाम्रो हातमा छ।
हिजो हामीले तिमीलाई साथ दियौं,
आज हाम्रा सन्ततिहरूले हामीलाई दिनेछन्।
किनकि क्रान्ति कहिल्यै मर्दैन,
यो केवल रूप बदल्छ,
आज हामी तिम्रै विरुद्ध लड्नेछौं,
किनकि हामीले तिमीबा
ट सिकेका थियौं—
अन्यायको विरुद्ध सधैं उठ्नुपर्छ!
Post a Comment